वडाध्यक्षमा लड्दै गायक शंकर पन्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    वडाध्यक्षमा लड्दै गायक शंकर पन्त

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दुलेगाैडा । देश स्थानीय तहको निर्वाचनमय बनेको छ। चुनावी सरगर्मीले माहोल गर्माएको छ। उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्। राजनीतिज्ञसहित कर्मचारी, शिक्षक, पत्रकार कलाकार आदि जनप्रतिनिधि बन्ने होडमा चुनावी मैदानमा उत्रिएका छन्।

    तनहुँमा पनि सबै थरीका उम्मेदवार चुनावी मैदानमा भेटिन्छन्। लोक दोहोरी गायक शंकर पन्त पनि वडाध्यक्ष बन्ने होडमा उम्मेदवारी दिएर घरदैलो गरिरहेका छन्। उनले जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्ष बन्नका लागि नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका हुन्।

    पन्तका गएको फागुनमा ‘तनहुँ जामुने’ बोलको गीत बजारमा आएको थियो। अघिल्लो वर्ष उनले बजारमा ल्याएको ‘म त हजुर गाम्ले’ गीत सर्वाधिक चर्चामा छ। खेती किसानीमा जिन्दगी खोज्नेलाई विचौलियाले दिने पिडालाई गीतले समेटेको छ। यो गीतले यस वर्ष सम्पन्न उत्कृष्ट लोक गितको अवार्ड हात पारेको छ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गरेको सातौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ मा पन्तको ‘म त हजुर गाम्ले’ गीतले उत्कृष्ट लोक गितको अवार्ड हात पारेको हो। पन्तको स्वास्नी कुटुवा, बरु मारन, पृथ्वी नै हल्लिएको हो, तर्किने माया, धोको पुगेनर, हे माया, कसम मार्‍यो मायाले, गाईको बाच्छी, तिम्रो विहेको निम्तोलगायत केही दशैँ र तीजका गीतहरु बजारमा आइसकेका छन्।

    आफू निर्वाचित भएपछि दगाम भुजिकोटलाई पर्यटनको हब बनाउने, मनकौरी मोटरमार्ग कालोपत्रे गर्ने, दुई वर्षमा वडालाई दुध र माछामासुमा आत्मानिर्भर बनाउने, शैक्षिक गुणस्तर उकास्ने, कला साहित्यको उत्थान, स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने योजना रहेको पन्तले बताए।

    ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने पन्तको घोषणा छ। एक्लेखेतमा रंगशाला, बेरोजगार युवालाई रोजगारीको व्यवस्था, सिपमुलक तामिलको व्यवस्था, व्यायमशालाको निर्माण, लैंगिक समनताका लागि छोरा र छोरीलाई घरायसी काममा समान सहभागी गराउने, हरेक चौमासिकमा सार्वजनिक सुनवाई गर्ने योजना उनीसँग छ। ‘वडाको सेवाप्रति उजुरी गर्ने व्यवस्था मिलाउनेछु’, उनले भने।

    ‘वडाको आम्दानी वडामै लगानी’ नारा लिएर पन्तले घरदैलो गरिरहेका छन्। यो वडा शुक्लागण्डकीमा सबैभन्दा धेरै उद्योग कलकारखाना सञ्चालन भएको वडा हो। उनी भन्छन्, ‘नगरमा सबैभन्दा धेरै हाम्रो वडाबाट आम्दानी हुन्छ। तर हामीले के पायौँ? धुलो मैलो! बाटो भत्किएको हाम्रै वडामा छ। केही काम नभएको वडा पनि हाम्रो नै हो। सबै अस्तव्यस्त छ। सबै भन्दा धेरै आम्दानी हाम्रै वडामा छ तर लगानी नै छैन।

    हामीलाई नगरले दिने बजेट बरु चाहिदैन्, यहीँको आम्दानीले विकास गर्नेछौँ’, उनले सुनाए। पन्तसँगै वडाध्यक्षको चुनावी मैदानमा नेकपा एमालेका तीर्थराज खनाल, नेपाली कांग्रेसका सुमनबहादुर राना मगर छन्। मुख्यतः यी तीन जनाको चुनावी भिडन्त हुने आंकलन छ। यी बाहेक स्वतन्त्रबाट बिमल गिरी, बेलकुमारी फगामी र रिता थापाले पनि वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणप्रसाद खनालको पनि वडाध्यक्षमा उम्मेदवारी परेको छ।