अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०७९, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताएका छन् । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग बुधबार शपथग्रहण गरेपछि न्यौपानेले अघिल्लो कार्यकालमा अधुरा रहेका योजना पूरा गर्नेतर्फ मुख्य ध्यान रहने बताए।

    दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गरे ।

    नगरप्रमुख न्यौपानेले समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडी बढाइने बताए । व्यास नगरपालिकालाई दलितमैत्री नगरपालिका बनाइने न्यौपानेले उद्घोष गरे । संविधान र कानूनको पालना गरेर काम गर्ने बताउँदै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताए ।

    मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले स्थानीय तहमा पारदर्शीता, जवाफदेहीता जनप्रतिनिधिको पहिलो प्राथमिकता हुनुपर्ने बताए। सबै नागरिकप्रति अपनत्व जगाउन सफल हुनुपर्ने बताउँदै ढुङ्गानाले सबैको साझा प्रतिनिधि बनेर काम गर्न सुझाव दिए।

    कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत ढुङ्गानाले प्रमाणपत्र वितरण गरेका थिए ।

    नगरप्रमुख न्यौपानेले बुधबार नै व्यास नगरपालिका कार्यालयमा पुगेर पदस्थापन गरेका छन् ।