दमौली । पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले तनहुँ र लमजुङ जोड्ने गरी निर्माण हुन लागेको पक्की पुलको बुधबार शिलान्यास गरेका छन् । तनहुँको भानु नगरपालिका–१० दूधेकुना र लमजुङको सुन्दरबजार नगरपालिका–७ मझुवाफाँट जोड्ने पाउदी खोलामा निर्माण हुने पुलको पूर्व प्रधानसेनापति क्षेत्रीले शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानसेनापति क्षेत्रीले समयमै गुणस्तरीय हिसाबले काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । “तोकिएकै समयमा पुल निर्माण होस्, त्यसो भन्दै गर्दा गुणस्तरमा कुनै कमी गर्नुहुँदैन,” उनले भने । पूर्व प्रधानसेनापति क्षेत्रीले विकास निर्माणको कार्यमा सबैको सामूहिक प्रयास आवश्यक रहने उल्लेख गरे ।
कार्यक्रममा तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले विकास निर्माणका काममा दुवै नगरपालिकाबीच सहकार्य गरिने बताए ।
भौतिक पूर्वाधार मन्त्रालयको रु ११ करोड लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माण सुरु भएको २७ महिनाभित्र सम्पन्न गर्नुपर्ने अवधि रहेको छ ।