दमाैली । सुरक्षित आप्रवासन (सामी) परियोजनाका बारेमा सोमबार दमौलीमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ । परियोजनाले चालु आर्थिक वर्षमा गरेका उपलब्धी, चुनौति तथा सिकाईका विषयमा पत्रकारसँग अन्तरक्रिया गरेको हो ।
सामी परियोजना हाल तनहुँका व्यास, शुक्लागण्डकी, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालनमा छ । आगामी वर्षदेखि भिमाद, बन्दीपुर र देवघाटमा परियोजना थप हुने सो अवसरमा जानकारी गराइयो ।
सो अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले नेपालमा वैदेशिक रोजगारको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार गण्डकी प्रदेशका छ जिल्लामा यो परियोजना सञ्चालनमा छ ।
कार्यक्रममा परियोजनाका तनहुँ संयोजक लुना रानाले तनहुँमा भएका गतिविधि तथा उपलब्धीका बारेमा जानकारी गराएकी थिइन् । उनका अनुसार चालु आर्थिक वर्षमा आप्रवासी स्रोत केन्द्रबाट चार हजार छ सय ६५ लाई व्यक्तिगत परामर्श, एक हजार आठ सय सातलाई वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रदान गरिएको छ ।
यस वर्ष १३ जना सीप तालिमका लागि सिफारिस र तालिम प्रदान गरिएको रानाले जानकारी दिइन् । चालु आर्थिक वर्षमा आप्रवासी स्रोत केन्द्रमा एक सय २४ वटा वैदेशिक रोजगारीका क्रममा भएका समस्या दर्ता भएको सो अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा ठूलो समस्या रहेकाले सुरक्षित तवरबाट मात्रै वैदेशिक रोजगारमा जाने वातावरण सिर्जना गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको बताए ।
नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तनहुँका चार स्थानीय तहमा ग्रामीण सशक्तीकरण समाजको सहजीकरणमा यो कार्यक्रम सञ्चालनमा छ ।