वर्ल्डलिंकले नयाँ १० जिबिपिएस प्रविधिमा फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वर्ल्डलिंकले नयाँ १० जिबिपिएस प्रविधिमा फाइबर टु होम नेटवर्क अपग्रेड गर्दै

    खबरपुञ्ज संवाददाता

    १६ असार २०७९, बिहीबार

    काठमाडाै । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।

    कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजिएस-पोनमा अपग्रेड गर्दै लैजाने जानकारी दिएको छ। नेपालमा एक्सजिएस-पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो। 

    यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ। यसअघि  सेवा प्रदायकहरूले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो। विद्यमान जिपोन नेटवर्क प्रविधिमा २.५ जिबिपिएस डाउनलिंक तथा १.२५ जिबिपिएस अपलिंक असममित ब्याण्डविथ भएकाले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन।

    तर अब एक्सजिएस-पोन प्रविधिबाट सममित १० जिबिपिएस डाउनलोड स्पिड र १० जिबिपिएस अपलोड स्पिड समान रूपमा दिन सकिनेछ। इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटरमा जोडिएको हुन्छ।

    जिपोनको तुलनामा नयाँ १० जिबिपिएस एक्सजिएस पोनमा अपलिंक ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्याण्डविथको क्षमता चार गुणा बढी छ। साथै, पोन नेटवर्क लेटेन्सीमा पनि जिपोनको तुलनामा केही सुधार हुनेछ।  

    ‘सैद्धान्तिक रुपमा हरेक जिपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर संख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’ कम्पनीले भनेको छ, ‘साथै, विद्यमान जिपोनको तुलनामा एक्सजिएस-पोनमा हालको एक्सेस लोकेसनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिनेछ।’

    निकट भविष्य एक्सजिएस-पोनलाई सफ्टवेरबाट अपग्रेड गरी २५ जी पोनको लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ। 

    यसबाट अब भविष्यमा एक जिपिएसभन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिनेछ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडिओ कन्फरेन्स जस्ता अपलिंक ब्याण्डविथ बढी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ।

    साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जिपोनबाट सेवा नदिइरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहरूलाई पनि एक्सजिएस पोनबाट पोर्ट, इन्टरनेट तथा एमपिएलएस डेटा सेवा दिनेछ।