बाघ संरक्षणमा सफलता, मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाघ संरक्षणमा सफलता, मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती

    सदिक्षा घिमिरे

    ८ भाद्र २०८३, मंगलवार

    काठमाडाै ९ भदाै । नेपालमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल हुँदै गए पनि बाघको सङ्ख्या वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ, जुन सन् २०२१ को तुलनामा १९४ ले बढी हो । सन् २०२१ मा नेपालमा २३५ वटा बाघ रहेकोमा २०२६ मा ४२९ पुगेको हो । यस आधारमा पाँच वर्षमा बाघको सङ्ख्या ८२.६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

    तर बाघको सङ्ख्या बढ्दै जाँदा मानवमाथिको आक्रमण पनि सोही अनुपातमा बढेको तथ्याङ्कले देखाउँदैन । बरु पछिल्ला केही वर्षमा बाघको आक्रमणबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि आर्थिक वर्ष २०८२÷८३ मा भने बाघको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या फेरि बढेको छ ।

    नेपालमा बाघको सङ्ख्या सन् २०१८ मा २३५, २०२२ मा ३५५ र २०२६ मा ४२९ पुगेको हो । पछिल्लो गणनामा चार वर्षमा ७४ वटा बाघ थपिएका छन् । बाघ गणना क्यामेरा ट्र्यापिङलगायत आधुनिक प्रविधिबाट गरिएको हो ।

    पछिल्लो वर्ष १० जनाको मृत्यु हुनु भने चिन्ताको विषय बनेको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ मा बाघको आक्रमणबाट मृत्यु भएका १० जनामध्ये चार जनाको बाँके राष्ट्रिय निकुञ्ज आसपास, तीन जनाको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा, दुई जनाको बर्दिया र एक जनाको चितवन राष्ट्रिय निकुञ्ज आसपासमा मृत्यु भएको थियो ।

    वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले विगतमा पनि बाघको सङ्ख्या बढेको उपलब्धिलाई मानव क्षतिसँग जोडेर हेर्नुपर्ने बताए । उनले बाघको सङ्ख्या बढ्दा मानिसको ज्यान जाने अवस्था आउन नहुने र बाघ संरक्षणसँगै मानव सुरक्षा सुनिश्चित गर्ने रणनीति आवश्यक रहेको बताए ।

    मानव–वन्यजन्तु द्वन्द्वको मुख्य कारणमध्ये वन्यजन्तुको बासस्थान र मानव बस्तीबीचको बढ्दो सम्पर्क, वन क्षेत्रमा मानिसको निर्भरता, वन्यजन्तुको आहारा तथा पानीको उपलब्धता र संरक्षित क्षेत्र वरिपरि बढ्दो मानवीय गतिविधि महत्वपूर्ण मानिन्छन् ।

    विशेषगरी निकुञ्ज तथा वन क्षेत्रमा घाँस–दाउरा संकलन, पशु चराउन जाने, च्याउ तथा निगुरो खोज्न जानेजस्ता गतिविधिका क्रममा मानिस र बाघको जम्काभेट हुने जोखिम रहन्छ । समस्याग्रस्त, घाइते वा वृद्ध बाघ मानव बस्ती नजिक आउने अवस्था पनि द्वन्द्वको प्रमुख कारण बन्न सक्छ ।

    नेपालमा बाघको सङ्ख्या बढ्नु संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धि हो । सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या २०२६ मा ४२९ पुगेको छ । बासस्थान संरक्षण, चोरी–सिकारी नियन्त्रण, बाघका आहारा प्रजातिको संरक्षण तथा जैविक मार्ग संरक्षणलगायतका प्रयासले बाघको सङ्ख्या बढाउन योगदान गरेको संरक्षण क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

    तर बाघको सङ्ख्या बढेसँगै उसको बासस्थान, आहारा, जैविक मार्ग र संरक्षित क्षेत्रको वहन क्षमता व्यवस्थापनमा थप ध्यान दिनुपर्ने अवस्था आएको छ । बाघ संरक्षणको सफलता अब सङ्ख्या बढाउनेमा मात्र सीमित नभई बाघ र मानव दुवै सुरक्षित रहने सहअस्तित्वको वातावरण निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने ढकालले बताए ।