दमाैली । राष्ट्रिय जनमुक्ति पार्टी तनहुँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष भुवनसिं थापाले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई बुझाएको ज्ञापनपत्रमा नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न माग गरिएको छ ।
पहिलो हुने निर्वाचित प्रणालीले देशमा भ्रष्टाचार, गुटबन्दी, व्यक्तिवाद, अराजकतालाई प्रोत्साहन गरेको भन्दै विज्ञप्तीमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली यसै पटकदेखि लागू गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा राष्ट्रिय दलको मान्यता खारेज गर्न माग गरिएको छ । संविधानले समेत परिकल्पना नगरेको राष्ट्रिय दलको मान्यताको व्यवस्थाले खुल्ला, शान्तिपूर्ण र लोकतान्त्रिक पद्धतिबाट अगाडी बढ्न चाहने दलहरुलाई निर्वाचन परिणाको आधारमा निषेध र दुरुत्साहित गर्नुका साथै दलीय प्रतिबन्धात्मक अवस्था सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा विदेशमा रहेका नेपालीलाई समेत मतदानको व्यवस्था गर्न माग गरिएको छ । विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सरकारलाई आग्रह गरिएको छ ।