जिपी कोइराला उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपी कोइराला उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७९, बिहीबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । शुक्लागण्डकी नगरपालिका–७ निवासी ६१ वर्षीया कुमारी गाहा मगरको बिहीबार पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो ।

    सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । “आज उपचार केन्द्रमा मेजर अप्रेशन सम्पन्न भयो, अब दैनिक रुपमा शल्यक्रिया सेवा दिने योजनामा छौ,” श्रेष्ठले भने ।

    पीडित मगरको पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ अधिकृत रिना पौडेल, स्टार्फ नर्सहरु दिल कुमारी भुजेल, सिर्जना कुंवर, पूजा थापा, एलिशा थापा, रिता श्रेष्ठ, सुस्मिता महत लगायत खटिएका थिए ।

    उपचार केन्द्रले माइनर अप्रेशन सेवा यसअघि पनि दिँदै आएको छ । नियमित रुपमा शल्यक्रिया सेवा सञ्चालन हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको छ । केन्द्रमा शल्यक्रिया सेवा सञ्चालन भएपछि सामान्य शल्यक्रियाका लागि पनि पोखरा, भरतपुर लगायतका ठूला शहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । “मझौला शल्यक्रियालाई नियमित रुपमा सञ्चालन गरिहेका छौ, यसले गर्दा तनहुँ लगायत आसपासका जिल्लाका स्थानीयवासीलाई सहज भएको छ,” डा. श्रेष्ठले भने ।

    अस्पतालमा तीन जना विशेषज्ञ र ९ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडीबाट कल्चर सेवा पनि शुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशन लगायतका सेवा दिइरहेको छ ।

    पचास शैय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाईफाईड, ज्वरो, ग्याष्ट्रिक, पेट सम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले केही वर्ष अघि पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भईसकेको छ ।