दमौली । मंसिर ४ गते हुने निर्वाचनमा तनहुँका दुवै क्षेत्रमा उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले स्वीकृत गरेको खर्चको हद विवरण अनुसार तनहुँ-१ र २ का उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने भएका हुन् ।
तनहुँ-१ मा १५२ र तनहुँ-२ मा १५३ मतदान केन्द्र छ । तनहुँ-१ मा १२३४९० र तनहुँ-२ मा १२५००५ मतदाता छन् ।
प्रदेशसभा निर्वाचनतर्फ तनहुँ १ (१) मा १७ लाख खर्च गर्न पाउनेछन् । त्यस्तै तनहुँ २ (१) का उम्मेदवारले पनि १७ लाख खर्च गर्न पाउनेछन् ।
तनहुँ १ (२) का उम्मेदवारले १९ लाख खर्च गर्न पाउनेछन् । यस्तै तनहुँ २(२) का उम्मेदवारले पनि १९ लाख खर्च गर्न पाउनेछन् ।
आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो ।
खर्चको सीमा तोकिनु पूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै प्रकारको खर्चको हद नतोक्न सुझाव आएअनुसार आयोगले फरक फरक हुने गरी निर्णय गरेको छ ।
खर्चको हद निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत, मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ ।