चाडपर्वले विविधताबीचको एकतालाई मजवुत बनाउँछ– मुख्यमन्त्री पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चाडपर्वले विविधताबीचको एकतालाई मजवुत बनाउँछ– मुख्यमन्त्री पोखरेल

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७९, मंगलवार

    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दसैँलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताएका छन् ।

    विजयदशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउन योगदान गर्ने बताए ।

    “हाम्रो देश बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हाम्रो विशेषता हो”, उनले भने। प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हाम्रो साझा दायित्व रहेको उल्लेख गर्दै उनले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताए ।

    हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ । यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने पर्वका रूपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले महामारीका रूपमा फैलिएको डेङ्गीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरूपमा अवलम्बन गर्नुपर्ने बताएका छन् ।