बारा । प्रतिनिधिसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको बताए ।
‘प्रत्यक्ष तर्फको गणनाको आधारमा उहाँहरु फराकिलो मतले प्रतिनिधिसभा र प्रदेश सभाका लागि विजयी हुनु भएको छ,’ उनले भने, ‘तर औपचारिक प्रमाणपत्र भने अन्तिम मत परिणाम आएपछि दिइनेछ ।’
पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ नेकपा समाजवादीका केन्द्रीय सदस्यसँगै सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।
श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।