पोखरा । पोखरा महानगरपालिकाले मुख्य सडकमा सवारी पार्किङको शुल्क उठाउन लगाएको ठेक्का तोडेको छ । महानगरले फेवा सावित्री जेभीसँग सडकमा पार्किङ गरेवापत शुल्क उठाउने ठेक्का तोडेको हो ।
पूर्व मेयर मानबहादुर जिसीको पालामा २ बर्षका लागि फेवा सावित्री जेभिसँग सडक पार्किङको शुल्क उठाउने सम्झौता गरिएको थियो । सम्झौता अनुसार गएको मंसिर २७ गते ठेक्का अवधि सकिएको छ । तर, जादाजाँदै मेयर जिसीले फेरि सुटुक्क चार महिना म्याद थपिदिएका थिए । २०७९ वैशाख २२ गते म्याद थपेर चैत मसान्तसम्म शुल्क उठाउन छुट दिएकोमा शुक्रबार बसेको कार्यपालिका बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।
ठेकेदार कम्पनीले तिर्नुपर्ने बाँकी किस्ता नतिरेपछि ठेक्का तोडेको महानगरका प्रवक्ता मोतिलाल तिम्सीनाले बताए । उनका अनुसार फेवा सावित्री जेभिले महानगरलाई तीन किस्ता बुझाउन बाँकी छ । १ करोड ९० लाख २ हजार रुपैयाँ तिनुपर्ने तिम्सिनाले जानकारी दिए । ‘अन्तिम किस्ता मंसिरसम्म तिर्नुपर्ने थियो । पटक पटक ताकेता गर्दा पनि नआएको हुनाले ठेक्का तोडियो’, उनले भने । बैंक ग्यारेन्टी जफत गरिने उनले बताए । शनिबारदेखि फेवा सावित्री जेभिले सडकमा सवारी पार्किङ गरेबापतको शुल्क उठाउन पाउने छैन् ।
सडक पार्किङको शुल्क उठाउने ठेक्का रद्ध गरेको महानगरले कोर एरियामा पार्किङ निषेध गर्ने निर्णयसमेत गरेको छ । तर, कोर एरिया भने निर्धारण गरिएको छैन् । निजी भवनको अन्डरग्राउण्ड र निजी जग्गाालाई पार्किङ प्रायोजनमा उपयोग गरिने प्रवक्ता तिम्सीनाले बताए । अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङको सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी प्रदान गरेको तिम्सीनाले बताए । यातायात समितिको बैठक शुक्रबार नै बस्दैछ । पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने उनको भनाई छ ।
पोखरा महानगरले सडक पार्किङ शुल्क उठाउन जेभीसँग २०७७ मंसिर १४ गते सम्झौता गरेको थियो । महानगरले जेभीसँग २ वर्षका लागि ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । प्रत्येक किस्तामा महानगरले ६३ लाख ३४ हजार रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । महानगरले पार्किङका ३ पटकसम्म सूचना आह्वान गर्दा आवेदन नपरेपछि मूल्य घटाएर चौंथो पटक टेन्डर आह्वान गर्दै ठेक्का लगाइएको हो । २०७५ असोज ६ गते पहिलो पटक टेन्डर आह्वान गर्दा महानगरले न्यूनतम ७ करोड ७५ लाख रुपैयाँ शुल्क तोकेको थियो ।
मंसिर २७ मा ठेक्का अवधि सकिएपछि पनि शुल्क उठाएपछि महानगरको चौतर्फी आलोचना भयो । त्यसपछि बल्ल म्याद सकिनु सात महिना अगावै विदा हुने बेलामा पूर्व मेयर जिसीले सुटुक्क चार महिनाको म्याद थपेको खुलासा भएको हो ।