दमाैली । व्यास नगरपालिका वडा नम्बर ५ मा ६९७ जनालाई निस्सा वितरण गरिएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया स्वरुप ६९७ जनालाई निवेदन दर्ताको निस्सा वितरण गरिएको हो ।
सो क्रममा अव्यवस्थित बसोबासीतर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जनालाई निस्सा वितरण गरिएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले सरकार भूमिहिनलाई भूमिको अपनत्व दिलाउने प्रक्रियामा लागेको बताए । नगरपालिकाको एउटा वडा वाहेक सबै वडामा निस्सा वितरणको काम सकिएको र तत्काल नापीका लागि प्राविधिकको व्यवस्था गरेर खटाउने निर्णय गरिएको न्यौपानेले बताए ।
भूमि आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले यहि भूमि आयोगले नै सबै समस्याको समाधान गर्ने बताए । जिल्लाको देवघाट र आँबुमा जग्गाको नाँपजाँच शुरु भएको हुँदा अब अन्य पालिकामा पनि कामले गति लिने बताए ।