दमाैली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ मा उम्मेदवार हुन नेपाली काङ्ग्रेसमा दर्जन आकाङ्क्षी देखिएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय समितिले आकाङ्क्षीको निवेदन माग गरेकामा १२ जनाले निवेदन दर्ता गराएका हुन् ।
शुक्रबार छ र शनिबार सात जनाले निवेदन दर्ता गराएको क्षेत्रीय सहसचिव शैलेश खातीले जानकारी दिए ।
उम्मेदवार हुनका लागि पूर्व सभापति रघुनाथ पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णुबहादुर पन्त, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुर अधिकारी र क्षेत्रीय सभापति श्याम माैरातीले निवेदन दिएका छन् ।
क्षेत्रीय कार्यसमितिले चैत १५ गतेभित्र उम्मेदवारको नामावली प्रदेश समितिसमक्ष सिफारिस गर्नेछ ।
तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । चैत २० गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।