गीतल प्रतिष्ठानद्वारा चार स्रष्टा पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठानद्वारा चार स्रष्टा पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७९, शनिबार

    दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । मञ्चले स्थापना गरेको विभिन्न पुरस्कारबाट चार जना स्रष्टा पुरस्कृत भएका हुन् ।

    भानु नगरपालिका–१२ बयापानीमा शनिबार आयोजित स्रष्टा सम्मान तथा काव्य उत्सवको अवसरमा प्रा डा सुरेन्द्र केसीले पुरस्कार प्रदान गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङलाई नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार प्रदान गरिएको छ ।

    नेपाली इतिहास एवं संस्कृतिमा पु¥याएको योगदानको कदर गर्दै गुरुङलाई उक्त पुरस्कार अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

    क्षेत्र प्रताप अधिकारी स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिइ हाल काठमाडाँै बूढानीलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

    गीतल राष्ट्रिय पुरस्कार कास्कीको पोखरा महानगरपालिका–८ निवासी चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

    गीतल प्रतिभा पुरस्कार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी कवि एवं गजलकार अथाह सागर तीर्थमानलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

    मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको सचिव माधव अधिकारीले जानकारी दिए । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार भने यसै वर्षदेखि पहिलोपटक प्रदान गरिएको हो ।

    कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले साहित्यको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको काम सकारात्मक रहेको चर्चा गरे । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि नगरपालिकाले काम गरिरहेको बताए ।

    कार्यक्रममा भारत, भुटानलगायत नेपालका विभिन्न ठाउँबाट सहभागी स्रष्टाले साहित्यवाचन गरेका थिए।