दमाैली । नेकपा एमालेका तर्फबाट तनहुँ १ का उम्मेदवार सर्वेन्द्र खनालले यसपटक एमालेको जित सुनिश्चित रहेको बताएका छन् । मंगलबार दमौलीमा घरदैलो गरेपछि अनसनचौतारामा आयोजित कोणसभालाई सम्बोधन गर्दै खनालले जनतालाई झुक्याउने काम बन्द गर्नुपर्ने बताउँदै तनहुँका जनताले यसपटक एमालेलाई जिताउने दावी गरे ।
“नौटंकी गरेर राजनीति गर्ने र जनतालाई झुक्याउने काम बन्द गर्नुपर्छ, यस्तो राजनीति गर्नेहरुलाई जनताले चिनिसके,” उनले भने, “यसपटक मलाई जनताको हौसला र आर्शीवाद मिलेको छ । न्यायप्रेमी जनताले मलाई जिताउनुहुन्छ ।”
न्यायप्रेमी जनताले राष्ट्रको स्वाभिमान बचाउने र एकताको भावनालाई अगाडी बढाउने नेकपा एमालेको दृढ संकल्पमा साथ दिने खनालले बताए ।
घरदैलाेमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पाेलिटव्युराे सदस्य महेश बस्नेत, सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य भगवती न्याैपाने लगायतकाे सहभागिता थियाे ।