हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८०, बिहीबार

    काठमाडाै । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

    दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए। “बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उनले भने “यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।”

    हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू-भदै हुनुहुन्छ । उहाँहरु एक साताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ । बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका-४ का ३६ वर्षीया कमला कुँवर, उहाँका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो ।

    यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । “आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन”, भट्टले भने, “घटनापछि यार्सा सङ्कलक सुरक्षित स्थानतर्फ झरेका छन् ।” यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् । —