को हुन् आर्थिक मामिलामन्त्री नियुक्त जीतप्रकाश आले ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    को हुन् आर्थिक मामिलामन्त्री नियुक्त जीतप्रकाश आले ?

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८०, शुक्रबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ बाट निर्वाचित जीतप्रकाश आले गण्डकी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् । आर्थिक मामिलामन्त्रीमा नियुक्त आलेले शुक्रबार शपथग्रहण गरेका छन् ।

    नेपाली काङ्ग्रेस तनहुँका सभापति समेत रहेका आले शुक्रबार दिउँसोसम्म मन्त्री बन्ने सूचीमा थिएनन् । नेकपा (एकीकृत समाजवादी) का सांसद राजिव गुरुङलाई मन्त्री नबनाएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    विसं २०१८ पुस २४ गते साविक माझकोट–९, मिर्छुलुङ (हालको भिमाद ५) मा जन्मिएका आलेले लगातार महत्वपूर्ण तीन वटा पदमा ह्याट्रिक गरेका छन् । आलेले विगत दुई वर्षको बीचमा पार्टीको सभापति, प्रदेश सांसद र मन्त्रीको जिम्मेवारी प्राप्त गरेर जीत हासिल गरेका छन् ।

    अर्थशास्त्रमा एम.ए. गरेका आल २०३५ सालमा बीपी कोइरालाको पोखरा आगमनमा स्वागतार्थ सहभागी भएका थिए । २०३५÷३६ को विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी उनी २०३७ सालमा बन्दीपुर क्याम्पसको स्ववियु सचिव बनेका थिए । २०३९ मा नेविसङ्घ तनहुँको सचिव बनेका आले २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनमा एक वर्षभन्दा बढी जेल र पटक पटक पक्राउ परेका थिए ।

    २०४६ को जनआन्दोलनमा इलाकास्तरीय संयुक्त सङ्घर्ष समितिको संयोजक रहेका उनी २०४९ मा नेपाली काङ्ग्रेस जिल्ला सदस्य, २०५३ मा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति बनेका थिए । २०५९ मा नेपाली काङ्ग्रेसको सचिव बनेका उनी २०५८ देखि निरन्तर महाधिवेशन एवं महासमिति सदस्य छन् ।