दमाैली । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँका विभिन्न योजना समेटिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा तनहुँमा ट्रमा अस्पताल स्थापना गर्नेदेखि सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसम्मका योजना उल्लेख गरिएको छ ।
राजमार्गमा हुने सवारीसाधन दुर्घटनाका घाइतेको प्राथमिक उपचारका लागि ट्रमा अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढाइने प्रदेश प्रमुख गुरुङले उल्लेख गरे।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी–१ सत्रसयमा ट्रमा अस्पताल निर्माणका लागि केही समय अगाडि प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिङ्खडाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष चुमानकाे प्रस्तावलाई प्रदेश सरकारले सम्बाेधन गरेकाे छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड ७२ किलोमिटर रहेको र यहाँ दैनिक दुर्घटना भइरहने हुनाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको उनले उल्लेख गरे । अस्पताल निर्माण गर्न पालिका प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको चुमानको भनाइ छ ।
यसैगरी सरकारले तनहुँको पुडिटारमा औद्योगिक क्षेत्र स्थापना व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशको गौरवको सडक आयोजनाको रुपमा रहेको तनहुँको भीमाददेखि नवलपुर डेढगाउँमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सरकारले आँबुखैरेनीमा रहेको कृषि तथा पशुपक्षी इकाइको सुदृढीकरणलाई प्राथमिकता दिएको छ । गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनी गाउँपालिका–३ मा तरकारीको विषादी परीक्षणका लागि इकाई स्थापना गरिएको थियो । तर उक्त इकाइ कर्मचारी अभावमा प्रभावित हुँदै आएको छ ।