दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरा खस्दा पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । सडकभन्दा एक सय मिटर माथिबाट सुख्खा पहिरा खसेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सुचारु गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरा पन्छाउने काम भइरहेको छ । तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
पहिरास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री समेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी परिचालन गरिएको छ ।