काठमाडौं। मुग्लिन–नारायणगढ खण्डको विकल्पमा निर्माण गरिने त्रिशूलीपारिको सडक योजनाको कार्यान्वयनबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पछि हटेको छ । वर्षेनि वर्षायाममा पहिरोका कारण यो खण्डमा निकै सास्ती भएपछि मन्त्रालयले त्रिशूलीपारिको सडक प्रयोग गर्न सकिने गरी अघि बढाएको उक्त योजना बजेट अभावले रोकिएको हो ।
यो सडक योजनाका लागि मुआब्जा र निर्माणमा उस्तै–उस्तै लगानी आवश्यक पर्छ । मुआब्जा वितरणमै अधिक रकम खर्चिनुपर्ने भएपछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक निर्माण कार्यान्वयनबाट पछि हटेको हो ।
मन्त्रालयका सहसचिव ई.अर्जुनजंग थापाले प्रस्तावित उक्त सडक बनाउन र मुआब्जा दिन झन्डै २० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको जानकारी दिए । तर, बजेट नहुँदा सडक निर्माणको योजना मन्त्रालयले अहिले ‘ड्रप’ नै गरेको उनले बताए ।
कुल ३७ किलोमीटर (किमी) को यो सडक बनाउन शुरूमा विश्व बैंकले सहयोग गर्ने भने पनि मुआब्जाका लागि भने नेपाल सरकारले नै लगानी गर्नुपर्ने थियो । मुआब्जामा नै अधिकतम १० अर्ब रुपैयाँ लाग्ने भएपछि योजना कार्यान्वयनबाट मन्त्रालय पछि हटेको थापाले बताए । हाल निर्माणाधीन नागढुंगा सुरुङमार्गका प्रभावितलाई मुआब्जा दिएकै रेटमा त्यस क्षेत्रमा मुआब्जा दिने गरी मूल्यांकन गरिएको थियो । ‘यस हिसाबले मुआब्जामा मात्रै उक्त रकम खर्चिनुपर्ने देखिएको छ । ‘मुआब्जामै अर्बाैं रकम खर्च गरेर सडक बनाउन सक्ने अवस्था अहिले सरकारसँग भएन,’ थापाले भने ।
यो सडक बनाउन सडक विभागले प्रारम्भिक डिजाइन भने तयार गरेको छ । डिजाइन, सम्बद्ध क्षेत्रका गाउँपालिकासँगको सहकार्यमा तयार भए पनि ट्र्याक योजनामा थप काम अघि बढ्ने सकेको छैन ।
त्रिशूली नदीको पल्लो किनारामा बनाइने यो सडकमा बढी मोटरेबल पुल बनाउनुपर्ने हुँदा पनि लागत बढी पर्ने उनको भनाइ छ । प्रस्तावित सडक योजनाको पूर्वतर्फको खण्डमा १९ ओटा र पश्चिमतर्फ २२ ओटा पुल बनाउनुपर्ने प्रारम्भिक डिजाइन छ ।
यो सडकका लागि मन्त्रालयले शुरू बिन्दु भने नागढुंगा र अन्तिम बिन्दु फिस्लिङ तय गरेको छ । नागढुंगास्थित खत्रीपौवादेखि धार्केसम्म १२ किलोमीटर छ । धार्केबाट फिस्लिङसम्म २५ किलोमीटरसम्म यो सडक बन्नेछ । मुआब्जाबाहेक सडक निर्माणमा अधिकतम १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यो सडक २ लेनको बनाउने मन्त्रालयको योजना छ । ‘साविकको मुग्लिन–नारायणगढ सडक विस्तार गरेर ४ लेनको बनाउँदा थप पहिरो र अन्य भौगर्भिक जोखिम पनि थपिन्छ,’ थापाले भने, ‘दीर्घकालीन रूपमै यो सडक बनाउनुको विकल्प छैन ।’
नारायणगढदेखि मुग्लिनसम्म र मुग्लिनको पल्लोपट्टी (पारि) हुँदै नौबीसे हुँदै सडक निर्माण गर्नुपर्छ भन्ने विषयमा छलफल पनि भइसकेको छ । यसका लागि मन्त्रालयले विश्व बैंकको सहयोगमा विशालटार (बेनीघाटभन्दा अगाडि)देखि फिस्लिङ (जोगिमारा चितवन कुरिनटारभन्दा यता) सम्म सडक सर्वेसमेत गरिसकेको छ । मन्त्रालयले ठेक्कापट्टाको काम अघि बढाउन ईआईए पनि गरिसकेको भए पनि बजेट नभएपछि योजना कार्यान्वयन हुन सकेको छैन ।
नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलबाटै तल धुनीबेँशी गएर धार्केसम्म जोड्ने र त्यसको पारिपारि हुँदै मुग्लिन खण्डसम्मै सडक बनाउने गरी योजना बनाई अघि बढेको मन्त्रालयले उल्लेख गरेको छ । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्षलगायत मन्त्रालयका अधिकारीले डेढ वर्षअघि साइट अवलोकन पनि गरेका थिए । त्यस क्रममा अहिले प्रस्तावित सडकको ट्र्याक स्थानीय गाउँपालिकाहरूले खोलिदिने र त्यो ट्र्याकलाई संघीय मन्त्रालयले २ लेनको सडकमा विस्तार गर्ने योजना बनेको थियो ।
गाउँपालिकाहरूले सडकको ट्र्याक खोलेका छन् । कुरिनटारदेखि मुग्लिनसम्मको खण्डमा भने ट्र्याक खोल्न बाँकी छ । प्रस्तावित यो खण्डमा भीर र जंगल भएकाले ट्र्याक खोल्न बाँकी रहेको हो । बाँकी धेरै स्थानमा स्थानीय गाउँपालिकाबाट काम भइरहेको छ । त्यसलाई मन्त्रालयले टेकओभर गरेर २ लेनको सडक बनाउने योजना अहिले कार्यान्वयनमा ल्याउन सकिएको छैन ।
मन्त्रालयका अनुसार मुग्लिन–नारायणगढ खण्डमा ४४ स्थानबाट पहिरो जानसक्ने भनेर पहिचान भएको थियो । त्यसअनुसार पहिरो रोकथामका लागि विभिन्न प्रविधिको प्रयोगबाट करीब ४० स्थानबाट जाने पहिरो नियन्त्रण नै गरिएको छ । बाँकी ४ स्थानबाट जाने पहिरो नियन्त्रण गर्न नसकिएको मन्त्रालयले उल्लेख गरेको छ । मौरीखोला, ४ किलोको पहिरो, १४ किलो र २६ किलोको पहिरो भने नियन्त्रण गर्न अझै सकिएको छैन ।
४ किलोमा ४०० मीटरमाथिबाट पहिरो आएको हुँदा पर्ख र हेरको अवस्था हो । त्यस ठाउँमा पहिरो रोकथामका लागि काम गर्न भने धेरै खर्चिलो हुने थापाको भनाइ छ । अहिले पहिरो झरेलगत्तै त्यसलाई सोहोरेर बाटो खुला गर्नेबाहेक अन्य विकल्प नभएको उनले बताए । मौरीखोलामा १५ वर्षअघि जाइकाले चेक ड्याम बनाएर पहिरो नियन्त्रणमा आएको भए पनि ३/४ वर्षदेखि भने त्यहाँ पहिरो जाने क्रम रोकिएको छैन ।
जाइकाले त्यसबेला प्रयोग गरेको प्रविधिबाट नै मौरीखोलाको पहिरो नियन्त्रण गर्ने योजना अघि बढाउने तयारीमा मन्त्रालय छ । आगामी वर्षको वर्षायामका लागि आउँदो हिउँदमा पहिरो नियन्त्रणको काम गर्ने मन्त्रालयको योजना छ । यो स्थानमा गतवर्ष मात्रै पनि पहिरो जाने कुनै संकेत देखिएको थिएन । तर, यो वर्ष गएको छ ।
वर्षायाम शुरू हुँदै गर्दा मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रा गर्ने यात्रुवाहक सवारीसाधनदेखि अन्य सवारीका लागि पनि यो खण्ड पार गर्न ठूलो सास्ती हुने गर्छ । (आर्थिक अभियान दैनिकबाट)