तनहुँमा व्यावसायिक पशुपंक्षी फार्ममा आकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँमा व्यावसायिक पशुपंक्षी फार्ममा आकर्षण

    Krishna Chandra Neupane

    ५ असाेज, २०८१

    दमाैली । तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपंक्षी फार्ममा आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपंक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

    व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले पशुपंक्षी फार्म स्थापना बढ्दो क्रममा रहेको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भने “प्रदेश सरकारको नीतिमा कृषि तथा पशुपालन उच्च प्राथमिकतामा परेको छ । पशुपालनमा निजी क्षेत्रको बढ्दो संलग्नताको अवस्था छ ।”

    विदेशबाट फर्किएका युवाहरु सीप, ज्ञान, पुँजी र उन्नत प्रविधिसहित यस क्षेत्रमा आकर्षित भएकाले व्यावसायिक पशुपंक्षी फार्ममा युवाको सहभागिता बढेको श्रेष्ठको भनाइ छ । श्रेष्ठले भने, “जिल्लाका सम्पूर्ण क्षेत्रमा यातायात सुविधा बढ्नु र सुलभ, ऋण, बीमा र नयाँ प्रविधिहरुको उपयोग बढेकाले पनि सहज भएको छ ।”

    कार्यालयका अनुसार जिल्लामा एक हजार छ सय ४६ व्यावसायिक पशुपंक्षी फार्म रहेका छन् । आर्थिक वर्ष २०७९÷८० मा ६६ फार्महरु दर्ता भइ सञ्चालनमा आएका छन् । उक्त अवधिमा १५ गाइ फार्म, १९ भैंसी फार्म, २६ बाख्रा फार्म, एक लेयर्स कुखुरा फार्म, दुई ब्रोइलर कुखुरा फार्म, तीन स्थानीय कुखुरा फार्म, पाँच मत्स्य फार्म, तीन मिश्रित फार्म दर्ता भएका छन् ।

    हालसम्म जिल्लामा आठ सय ३४ गाइ फार्म, एक सय चार भैंसी फार्म, तीन सय ३४ बाख्रा फार्म, ५७ बङ्गुर फार्म, ३५ लेयर्स कुखुरा फार्म, ६७ ब्रोइलर कुखुरा फार्म, २४ स्थानीय कुखरा फार्म, ७३ मत्स्य फार्म, एक सय १३ मिश्रित फार्म र तीन कालिज फार्म सञ्चालनमा छन् ।

    बाह्र ह्याचरी उद्योग, चितवनपछि धेरै तनहुँमा

    पछिल्लो पाँच वर्षको अवधिमा तनहुँमा बाह्र ह्याचरी उद्योग खुलेको छ । ह्याचरी उद्योग चितवनपछि तनहुँमा धेरै भएको कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ । तीमध्ये सबैभन्दा बढी ह्याचरी उद्योग भानु नगरपालिकामा सञ्चालित छ ।

    भानु नगरपालिकामा आठ, बन्दीपुर गाउँपालिकामा एक, शुक्लागण्डकी नगरपालिकामा दुई र म्याग्दे गाउँपािलकामा एक ह्याचरी उद्योग सञ्चालनमा छ । ती उद्योगबाट वार्षिक दुई लाख १३ हजार पाँच सय उत्पादन क्षमता रहेको छ ।

    भानु नगरपालिकामा मस्र्र्याङ्दी पोल्ट्री प्रालि, पुर्कोट पोल्ट्री फार्म, चन्द्रावती पोल्ट्री फार्मबाट, खुकुरी एग्रो फार्म, महालक्ष्मी ब्रिडिङ्गस् फार्म, शुभलक्ष्मी ह्याचरी, वृहस्पति पोल्ट्री फार्म, ह्वाइट वर्ड एग्रो प्रालि, बन्दीपुरस्थित बन्दीपुर ह्याचरी प्रालि, शुक्लागण्डकी नगरपालिकास्थित तीनखोला एग्रो फार्म, फेवा ग्रुप अफ पोल्ट्री, म्याग्दे गाउँपालिकास्थित पोखरा तनहुँ महिला एग्रो फार्म सञ्चालनमा छ ।

    डा. श्रेष्ठले भने, “पछिल्लो समययता चितवनबाट तनहुँमा त्यस्ता फार्म स्थानान्तरण भएका छन् । यसले रोजगारीको अवसर पनि सिर्जना गरेको छ ।”