घरभन्दा माथि उठेर अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी यो भिडिओ बनाउन विवश छौं (भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घरभन्दा माथि उठेर अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी यो भिडिओ बनाउन विवश छौं (भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, सोमबार

    नमस्कार म बिपिन सुवेदी,

    अहिले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी यहाँ(इजरायल) आएका विद्यार्थीहरू हौं।

    हामी यहाँ पाँच जना छौं। म यो भिडिओ नबनाउने स्थितिमा थिएँ। घरकालाई पीडा हुन्छ, घरकालाई तनाव हुन्छ भनेर तर, घरभन्दा माथि उठेर अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी यो भिडिओ बनाउन विवश छौं।

    हामी यहाँ पाँच जना छौं। अहिले देखिरहनुभएको छ- यो बंकर हो। हामी जहाँ बसिरहेका छौं। यो बंकरमा हामी करिब तीन दिन भयो बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि हामीलाई एम्बेसीले उद्धार गर्छ कि भनेर लुगा लगाएर, लगाएजस्तो गरी बसिरहेका छौं। आश त्यति छ हामीलाई।

    अहिले यहाँ बिहानको ८ बजेको छ। बिहान भएर हामीलाई यो बनाउन आँट आइरहेको छ। जब साँझ पर्छ, यो बंकरमाथि पनि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौं। अझै पनि हामी आफू पनि गुम्छौं कि भन्ने डर छ।

    १० जना साथीको चिच्याहट, १० जना साथीले हामीलाई गरेको हारगुहार सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। त्यतिमात्रै होइन, बंकरमा बसेकाले बच्छ भनेर नेपाल सरकारले सोचिरहेको होला। हामी आउने ढोका, जो अहिले उज्यालो आइरहेको छ, त्यो ढोका खुला छ। त्यहाँबाट आएर आतंकवादीहरूले हाम्रा साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्‍यो भने? हामी पनि त्यसैगरी मर्ने?

    प्लिज, बिन्ती छ! हामी अझै, अब कुर्न सक्दैनौं। हामीले समाचारमा सुन्यौं। भारतले एउटा टिकटक स्टारलाई जहाज चार्टर्ड गरेर भारत लग्यो भनेर। हाम्रो नेपाल सरकारले यत्रो विद्यार्थीलाई, हामी कृषि क्षेत्रका विद्यार्थीलाई केहीपनि गर्न सक्दैन हो? हामी यत्रो ३९ जनामा १० जना त गुमाइसक्यौं। अझै पनि जति बचेका छौं, त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नी। देश फर्केर हामीले पनि त केही न केही गर्थ्यौं होला। केही न केही चाहि गरिदियोस्।

    हामीलाई मिटिङ भइरहेको छ यता-त्यता सुनाउनुपर्दैन। मेसेजमा हामीले यसो गरिरहेका छौं भन्न पर्दैन। राज्यले यो गरिराछ त्यो गरिराछ, मिटिङ गर्न छ या जे गर्न छ गर्नुस्, तीन दिन भयो। त्यो पनि त सोचिदिनुस्। हामीलाई केही भएको छैन। तिमीहरूलाई इन्जुरी भएको छैन भनेर मेन्टल सेटले हामी कुन स्टेजमा छौं। राति बस्दाखेरि मेरो सास पुग्दैन, मुटु फुट्न खोज्छ, मुख बन्द हुन्छ, मुख बन्द हुँदा सास नपुगेको जस्तो हुन्छ। कहिलेसम्म हामी यसरी बस्ने? 

    आज हामीले यो भिडिओ किन बनाएको भन्दा आज दिनभरिमा केही हुन्छ कि भनेर बनाएको हो। आज पनि त्यही रातमा कटाउनुपर्‍यो भने रातरातले नै लग्ने भयो हामीलाई। साथीहरूलाई पनि लग्यो अब हामीहरूलाई पनि नलगोस्। बिन्ती छ।