दमौली । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक अभिनद्ध मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ ।
नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक अभिनद्ध तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौ र आदिइत्यादि काठमाडौले संयुक्त रुपमा नाटक तयार पारेका थिए ।
‘सम्भवत हामी नेपाली नाटकमा नाटकघर चलाउने नाटककै पछिल्लो संस्था हौँ होला । हामीले पहिलोपल्ट विदेशको नाट्य यात्रा गरेको हौँ । फरक अनुभव लिने अवसर मिल्यो र फरकफरक नाट्य संस्थाहरुको सामुहिकताको एउटा प्रयास पनि उपलब्धिमूलक रह्यो भन्ने मेरो ठम्याइ हो’ ओजस थिएटरका संचालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले भने ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले भने, ‘ हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानीय स्तरमा मात्रै सीमित हाम्रो लागि यो महोत्सव एउट ठूलो अवसर पनि थियो । हामीले नो नाट्य महोत्सवबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त गर्यौँ ।’
फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको आदिइत्यादिका कोषाध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार सुशीलसिंह ठकुरीले बताए ।
कलाकार उषा केसी भन्छिन्, ‘झण्डै २२ बर्ष पछि म अभिनयमा फर्केको थिएँ, डर पनि लागेको थियो तर सबै कलाकारहरु पेशागत कलाकार भएका कारण मैले धेरै कुरा सिक्ने अवसर पनि पाएँ र काम गर्न पनि सहज भयो ।’
नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिकृया दिँदै फ्रान्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताए।
नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्यमञ्चनको शैली र हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपाली नाट्यसंस्थाहरुसँग सहकार्य गरिने बताए ।
एकल महिलाले भोग्नु पर्ने समाजिक प्रताडनमाथि केन्द्रित करिब १ घण्टा लामो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका थिए । नाटक अभिनद्धमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो । नाटकमा कवि सरस्वती तिमल्सिनाको छ वटा कविता समावेस थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए ।
नाटक महोत्सवमा भारतका बिभिन्न राज्य र नेपालको गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो । स्वागत कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ठ ब्यक्तिहरु नारायण हुमागाईँ, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।