दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटनामा घाइते भएकामध्ये २० जना उपचारपश्चात् घर फिर्ता भएका छन् ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस घाँसीकुवामा सडकबाट अनियन्त्रित भई पल्टिँदा घाइते ३४ जनामध्ये २० जना डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेमध्ये दश जनाको पोखरामा र चार जनाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
दुर्घटनामा परी धनकुटा सागुरीगढी गाउँपालिका–९ बस्ने ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको मृत्यु भएको थियो । घाइतेमध्ये राइको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।