


चितवन, २० भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवको संख्या ३६२ पुगेको छ। तीमध्ये हालसम्म ३३३ शवको डीएनए नमुना सुरक्षित राखेर देवघाटस्थित जंगलमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने १४ जनाको मात्रै सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ७१ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२९ अन्य (लिङ्ग पहिचान हुन नसकेका) रहेका छन्।
यसैगरी व्यवस्थापन गरिएका ३३३ शवमध्ये ७३ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक तथा १२७ अन्य श्रेणीका शव रहेका छन्। प्रहरीका अनुसार हालसम्म सनाखत भएर आफन्तले बुझेका शवमध्ये २ महिला, ११ पुरुष र १ बालिकासहित जम्मा १४ शव रहेका छन्। (नारायणी अनलाइन)