मेस्सीलाई ‘सर्वाधिक श्रद्धेय र प्रभावशाली’ भन्दै टाइम म्यागजिनद्वारा वर्षको उत्कृष्ट खेलाडी घोषित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीलाई ‘सर्वाधिक श्रद्धेय र प्रभावशाली’ भन्दै टाइम म्यागजिनद्वारा वर्षको उत्कृष्ट खेलाडी घोषित

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८०, बुधबार

    एजेन्सी । विश्वप्रतिष्ठित टाइम म्यागजिनले अर्जेन्टिनी फूटबल टोलीका कप्तान लियोनल मेस्सीलाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ।

    गत जुलाईमा अमेरिकी मेजर लिग सकरको टोली इन्टर मियामीमा आबद्ध मेस्सीले कुल १४ खेलमा ११ गोल गरेका छन्। यसबीच उनले मियामीलाई लिग्स कपको उपाधि पनि दिलाए, जुन मियामीको पहिलो उपाधि समेत थियो।

    गत महीना ३६ वर्षीय मेस्सीले अद्वितीय रूपमा आठौं बलोन डी ओर पनि जिते।

    ‘लिग्स कपका सात खेलमा १० गोल गर्दै मियामीलाई उपाधि समेत दिलाएर मेस्सीले अमेरिकामा आफ्नो आगमनको बिगुल फुके। सेप्टेम्बरमा चोटका कारण उनको गति सुस्ताए पनि त्यसले खासै फरक पारेन। ३६ वर्षको उमेरमा, आफ्नो अद्वितीय करिअरको दोस्रो दशकमा मेस्सीले अमेरिकी फूटबललाई यसरी जगाए कि, रंगशालामा उपस्थिति, टिकट मूल्य, व्यापार र दर्शक संख्या ह्वात्तै बढ्यो। उनका खेलहरूमा कुनै धार्मिक पुनर्जागरण झैं माहोल हुन्थ्यो,’ टाइमले उल्लेख गरेको छ।

    टाइमले मेस्सीलाई ‘संसारकै सर्वाधिक श्रद्धेय र प्रभावशाली खेलाडी’ समेत भनेको छ। ‘मेस्सी गतिवर्धक हुन्। शीर्ष तहको खेल खेलिरहेका संसारकै सर्वाधिक श्रद्धेय र प्रभावशाली खेलाडी आगामी दुई वर्ष मियामीमै हुनेछन् – उनले वर्षको सर्वोत्कृष्ट खेलाडीका रूपमा आठौं बलोन डी ओर पनि जिते, गत अक्टोबरमा – अमेरिका अब फूटबल राष्ट्र भएको छ,’ टाइमले लेखेको छ।

    अमेरिकालाई फूटबलप्रेमी राष्ट्र बनाउन कुनै समय असम्भव मानिएकामा उक्त काम मेस्सीले सम्भव बनाएको टाइमको ठहर छ।

    सन् २०२२ मा मेस्सीले करिअरकै महत्त्वपूर्ण उपाधि विश्वकप पनि जिते। यस्तै, राष्ट्रिय टोलीका लागि उनले सिनियर तहबाट कोपा अमेरिका र फिनालिसिमा पनि जितेका छन्। मेस्सी फूटबल जगत्‌कै सर्वाधिक उपाधि चुम्ने खेलाडी पनि हुन्।

    टाइम म्यागजिनको वर्षको उत्कृष्टको सूचीलाई निकै महत्त्वका साथ हेरिन्छ।