भिजा लागेको खबर पर्खिएको परिवारमा जब गोली लागेको खबर पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भिजा लागेको खबर पर्खिएको परिवारमा जब गोली लागेको खबर पुग्यो

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०८०, शनिबार

    कैलाली । अछामको चौरपाटी गाउँपालिका-१ सिउडीका २३ वर्षीय वीरेन्द्र शाहले केही वर्ष अघि नै कोरिया पुगेर घरको नाजुक अवस्थामा सुधार ल्याउने सोचेका थिए । तर, काठमाडौँ बसेर छोरालाई पठाउन सक्ने ल्याकत बुवा टेकबहादुर शाहमा थिएन ।

    छोरोको सपना पुरा गर्न ५० वर्षको उमेरमा टेकबहादुर भारत परे ।

    ‘पाएको काम गरेर करिब १० हजार भारु बचाउनु हुन्थ्यो त्यही पैसाले छोरालाई काठमाडौँ पढाइरहनु भएको थियो ’ स्थानीय गणेश शाहले भने ‘अहिले त्यो परिवारमा बज्रपात भएको छ ।’

    ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौँ गएका वीरेन्द्रको शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको भिजा लागेको समाचार सुन्न पर्खिएका परिवारमा छोरालाई गोली लागेको समाचार पुग्यो ।

    अहिले यो परिवारमा सन्नाटा छाएको छ । भारतमा काम गर्दा गर्दै बिरामी भएर फर्किएका टेकबहादुर काठमाडौँ जाँदै छन् । आमा दुर्गा देवी विक्षिप्त छिन् । कति बेला बेहोस हुन्छिन् होस खुलेपछि फेरी रुन्छिन् र ढल्छिन् ।

    वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए  । स्वदेशमै रोजगारी गरेर बुद्ध बुवा आमालाई स्याहार गर्ने वीरेन्द्रको रहर पनि पुरा हुन पाएन । दसैँमा घर आएका वीरेन्द्र तिहार सम्म बसेका थिए । उनले आफू चाँडै कोरिया जाने र घरको अवस्था सुधार हुने बताएका थिए ।

    ‘दशैका आउँदा बाबु निकै खुसी थियो । अब कोरियाबाट पैसा पठाएर बुवाको उपचार गर्ने नयाँ घर बनाउने र सबै समस्या सकिन्छ भन्थ्यो वीरेन्द्रका हजुरबुवा पर्ने वडा सदस्य गणेश शाहले भने, ‘सबै सपना चकनाचुर भयो ।’

    वीरेन्द्रका दाजु पनि रोजगारीका सिलसिलामा भारत छन् । घटना पनि उनी पनि फर्किँदै छन् । (नेपाल प्रेसबाट)