दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) मा शुक्रबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
दिवसको अवसरमा पृथ्वीनारायण शाहको इतिहास, तत्कालिन समसामयिक अवस्था र हालको सान्दर्भिकता विषयमा पिएन क्याम्पस पोखराका इतिहास विभाग प्रमुख सहप्रध्यापक बसन्त प्रसाद पराजुलीले जानकारी गराएका थिए ।
त्यसक्रममा पराजुलीले नेपाली सेनाका संस्थापक तथा नेपाल राज्यको एकीकरणकर्ता शाहको जीवनी, वैवाहिक सम्बन्ध, मितेरी सम्बन्धका बारेमा जानकारी गराएका थिए । उनका अनुसार तत्कालीन उत्तर र दक्षिण तर्फ उदियमान शक्तिहरुबाट पार्न सक्ने खतरालाई मध्यनजर गरि नेपाल र नेपालीको अस्तित्व जोगाउनको लागि २२ र २४ राज्यको रुपमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरी एउटा सार्वभौम र शक्तिशाली राष्ट्र खडा गर्ने अठोटका साथ शाहले नेपाल एकीकरणको थालनी गरेका थिए ।
त्यस्तै पराजुलीले काठमाडौं उपत्यकामा शाहले विजय प्राप्त गर्दा भएको अप्ठ्यारो, तत्कालीन इष्ट इण्डिया कम्पनी, उपत्यकका राज्य, मकवानपुर तथा पाल्पाका राज्यहरुबाट पृथ्वीनारायण शाहलाई रोक्न गरिएको इष्ट इण्डिया कम्पनीसँगको सम्झौता र उक्त सम्झौता विरुद्ध लडिएका सिन्धुली गढी युद्ध, मकवानपुर गढी युद्ध र पाल्पा तानसेनमा भएका अंग्रेजहरुसंगको लडाई बारेमा जानकारी गराए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, गणका गणपति प्रमुख सेनानी रामज्योती बोहरा, राष्ट्रिय अनुसन्धान विागका उप–अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँण, व्यास–५ का निवर्तमान अध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।