दमौली । रक्तदान गर्ने इच्छा भएर पनि रक्तसञ्चार केन्द्रसम्म पुग्न नसक्नेहरुले शनिबार सडकमा हिँड्दा हिँड्दै रक्तदान गर्ने अवसर पाएका छन् । दमौलीमा सामाजिक कार्यमा सक्रिय रहेको टिम नेपो तनहुँको आयोजनामा व्यास ३ स्थित अनसन चौतारीमा खुला रक्तदान कार्यक्रम गर्यो ।
रक्तसञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ । सामाजिक कार्य अन्तर्गत क्लबले बेला बेलामा रक्तदान कार्यक्रम गदै आएको टिम नेपो तनहुँकी अध्यक्ष पवित्रा भुजेलले बताइन् ।
व्यास नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष अनुप रानाले रक्तदान गर्नु महान् कार्य रहेको बताउँदै उनले सक्नेहरुले रक्तदान गर्नुपर्ने बताए ।
जिल्लामा सुत्केरीको उपचारको लागि, दुर्घटनामा परेका व्यक्ति, मिर्गौलाका डायलासिस गर्न, एनिमियालगायतका बिरामीलाई रगत आवश्यक पर्ने गरेको छ तर रक्तदाताको संख्या कम हुँदा रगतको अभाव छ । २०७२ सालमा दमौली अस्पालतमा स्थापना भएको रक्तसञ्चार केन्द्रमार्फत जिल्लामा रगत पूर्ति गर्ने गरिन्छ ।
रक्तसञ्चार केन्द्र नयाँ हुनाले केही थाहा पाएकाले मात्र रक्तदान गर्न त्यहाँ पुग्ने गर्छन् । नियमित आफैं रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्ने दाताको संख्या १५ देखि २० जना जति रहेको छ । संस्थागत रक्तदाताको संख्या भने थपिने क्रममा छ । जिल्लामा १ महिनामा ३० देखि ४० युनिटसम्म रगत आवश्यक पर्ने गरेको छ । रगत अभाव हुँदा बिरामीले पोखरा लगायत बाह्य जिल्लासम्म पुगेर रगतको जोहो गर्नुपर्ने बाध्यता रहँदै आएको रक्तसञ्चार केन्द्रकी इन्चार्ज जसोधा थापा क्षेत्रीले बताइन् ।
जिल्लामा हुने रक्तदान कार्यक्रमले रगत जोहो गर्न धेरै सहयोग पुर्याएको छ ।’ उनले अघि थपिन्, ‘रक्तदान कार्यक्रममार्फत नयाँ रक्तदाता खोज्न सजिलो भएको छ ।’ ‘नियमित दान नहुँदा रगतको अभाव व्यहोर्नुपर्ने अवस्था छ । रगत चाहिएकाले सँगै दाता खोज्नुपर्ने समस्या पनि छ ।’ रक्तदानको बारेमा अझै नागरिक स्तरमा सचेतना फैलाउन आवश्यक रहेको उनले बताइन् ।
पुरुष रक्तदाताको तुलनामा महिला रक्तदाताको संख्या थोरै छ । लैंगिक रुपमा पनि दाताको संख्यालाई बराबर पुर्याउन सक्दा दाता थपिन सक्नेछन्।
दमौलीका हरि सिग्देल नियमित रक्तदाताभित्र पर्छन । उनले अहिलेसम्म ४५ पटकसम्म रक्तदान गरि सके । उनले भने,‘रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम छ । मानसिक र शारीरिक स्वस्थ्यताको लागि रक्तदान उपयुक्त मानिन्छ,’ रक्तदान गर्न १८ वर्षदेखि माथि र ६० वर्षमुनि उमेर समूहको व्यक्ति हुनुपर्छ । ४५ किलोभन्दा माथि तौल भएको व्यक्तिले रक्तदान गर्न सक्नेछ । एउटा स्वस्थ पुरुषले वर्षको ४ पटक र एउटा स्वस्थ महिलाले वर्षको ३ पटक रक्तदान गर्न सक्नेछन् ।