काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रन बनायो।क्यानडाका लागि दुई खेलाडीले अर्धसतक बनाए । क्यानडाका प्रगत सिंहले ५० तथा निकोलस किर्तोनले ६८ रन बनाए। यस्तै हर्ष ठाकेर ३२ तथा आरोन जोनसनले २० बाहेक अन्य ब्याटरले दोहोर रन बनाउन सकेनन्।
नेपालका कप्तान रोहित कुमार पौडेलले ४ विकेट लिए। यस्तै ललित राजवंशीले २ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ५८ बल खेल्दा ९ चौका र एक छक्का प्रहार गरे।
आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५, सूर्य तामाङले १० रन बनाए।क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए। साद बिन जफार र ईश्वरजित सोहीले २–२ विकेट लिए भने शाहीद अहमदजाइ र हर्ष ठकेरले १–१ विकेट लिए।