


दमाैली । नेकपा (एमाले) तनहुँको आगामी वैशाख २८ र २९ गते हुने दशौं जिल्ला अधिवेशनका लागि दशवटै पालिकाबाट प्रतिनिधि छनोट गरिएको छ । एमालेले शनिबार दशवटै पालिकाबाट प्रतिनिधि छनोट गरेको हो ।
पार्टीको सचिवालय बैठकले प्रतिनिधि छनोटमा चलखेल रोक्न एकैदिन प्रतिनिधि छनोटको कार्यक्रम गरेको जिल्ला उपाध्यक्ष हरिराज कंडेलले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तह र सबै वडाबाट प्रतिनिधि चयन गरिएको छ ।
प्रतिनिधि छनोटका लागि लागि एमालेले प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भूगोल) मानेर २० बराबर एक जना प्रतिनिधि छनोट गरेको थियो ।
अधिवेशनमा जनवर्गीय सङ्गठनहरु अनेरास्ववियु, युवासङ्घ, अनेमसङ्घ, जिफन्ट, किसान महासङ्घ, मुक्ति समाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत, खेलकुद महासङ्घबाट दुई जनाका दरले र प्रेस चौतारी, जनसांस्कृतिक महासङ्घ, बुद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासङ्घ, भूमि अधिकार, श्रमिक सङ्घ, भूपू सैनिक प्रहरी सङ्गठन, पेशागत कानुन व्यवसायी सङ्घ, अपाङ्गता सङ्गठनबाट एक जनाका दरले प्रतिनिधि छनोट गरिएको पार्टी उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।