देवघाट । एघार वर्षीय राम भुजेलको दाहिने हात भाँचिएको १४ महिना भइसक्यो । तर, उनले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । समयमै उपचार नपाउँदा पाखुराको हड्डी नै बाहिर निस्किएको छ । चरम आर्थिक सङ्कटमा दिन गुजार्दै आएका ६३ वर्षीय तुलबहादुर भुजेललाई नातिको यो अवस्था हेर्ने रहर कत्ति पनि होइन । तर, उपचारका लागि अस्पतालसम्म पुग्न सक्ने अवस्था नरहँदा नातिको पीडा देख्नु र महसुस गर्नुको विकल्प छैन ।
अहिले रामको पाखुरा देख्दा जोकोही पनि डराउँछन् । भाँचिएको हड्डी जोडिन नपाएपछि छाला नै छेडेर बाहिर निस्कँदा ठूलो घाउ बनेको छ । त्यही हड्डीको असरका कारण पाखुरामा अर्को प्वाल पनि बनेको छ । ती घाउहरुबाट निरन्तर फोहोर बगिरहन्छ । तर, उपचार गरिदिने कोही छैन ।राम २०७९ सालको माघ महिनामा भीरबाट लडेर घाइते भएका हुन् । हजुरबाले एकपटक अस्पताल ल्याएर देखाए । तर, अस्पतालले उपचारमा लाग्ने खर्च सुनाएपछि नातिलाई जस्ताको तस्तै फर्काएर गाउँ ल्याए । दिन, हप्ता, महिना हुँदै वर्षदिन बित्यो । तर, नातिले अहिलेसम्म उपचार पाएनन् ।
तुलबहादुरको जेठो छोरोपट्टिको जेठो नाति हुन्, राम ।उनको जेठो छोरो अर्थात् रामका बुबा सुकबहादुरले पनि उपचार पाएनन् । करिब सात वर्षअघि भीरबाट लडेर घाइते भएका ३६ वर्षीय सुकबहादुर अहिले पनि चोट बोकेरै हिँडिरहेका छन् । उनको देब्रे हात र देब्रे खुट्टाले राम्रोसँग भर पाउँदैन । ‘एकपल्ट अस्पताल पुगेको थिएँ । डाक्टरले नसा च्यापिएको छ, अप्रेसन गर्नुपर्छ भन्नुभाथ्यो । पैसा नभएर फर्केर आएँ’, सुकबहादुर भन्छन्, ‘अहिले हात पनि राम्रोसँग चलाउन मिल्दैन । खुट्टाले पनि भर पाउँदैन । ओरालो हिँड्नै मिल्दैन ।’छोरा र नातिको उपचारमा बुबा तुलबहादुरले सकेको खर्च गरे । तर, दुवैजनाको उपचारले पूर्णता पाउन सकेन ।
‘छोरा र नातिलाई आफूसँगै हिँड्न सक्ने त बनाएँ । तर, पूरै निको हुने गरी उपचार गराउन सकिनँ’, उनी भन्छन्, ‘आफ्नो सन्तानको यो अवस्था देख्ने मेरो रहर पनि होइन, अवस्था नै नरहेपछि विकल्प रहेन ।’जतिसुकै कठिनाइ भए पनि दस जनाको परिवार धान्ने जिम्मा उनै तुलबहादुरको काँधमा छ । अहिले घरमा उनीसहित श्रीमती, तीन छोरा, एक बुहारी, दुई नाति र दुई नातिना सँगै छन् । घरमा आयस्रोत केही छैन ।यहि परिवारमा आर्को विपति आईपरेको छ गत बैशाख १५ गते परेको चट्याङले घर जलेर पुर्ण रुपमा क्षति भएर नष्ट भएको छ ।