दमौली । तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले असार २ गते व्यास नगरप्रमुखको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको आदेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट तेस्राे पटक हेर्न नभ्याइनेमा परेको छ ।
न्यौपानेको रिटको पेशी आइतबार, साेमबार र मङ्गलबार गरी लगातार तेस्राे दिन पनि हेर्न नभ्याइनेमा परेकाे हाे ।
तेस्राे दिन मङ्गलबार न्यायाधीश प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाकाे संयुक्त इजलासमा उक्त पेशी ताेकिएकाे थियाे ।
गत जेठ १ गते उच्च अदालत पोखराले गत स्थानीय तहको मतपरिणाम बदर गरी पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेश उपर अन्तरिमकालिन आदेश माग गर्दै न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनः मतगणना गर्न आदेश दिएको थियो । प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए। रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।
स्थानीय तहको निर्वाचन अन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।