तनहुँमा तीन महिनापछि सवारी चालक अनुमतिपत्र सेवा पुनः सञ्चालन हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा तीन महिनापछि सवारी चालक अनुमतिपत्र सेवा पुनः सञ्चालन हुँदै

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमौली । यातायात व्यवस्था कार्यालय तनहुँमा तीन महिनापछि सवारी चालक अनुमतिपत्र पुनः सञ्चालन हुने भएको छ । यातायात व्यवस्था कार्यालय तनहुँमा गत चैत १ गतेदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र असार २३ गते आइतबारदेखि सुचारु गर्न लागिएको हो ।

    कार्यालय गत चैत १ गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीहरुको बायोमट्रिक सुरु गरिने कार्यालयका निमित्त प्रमुख कमला द्वारेले जानकारी दिए ।

    तीन महिनासम्म दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्याक्टरको सवारी चालक अनुमति पत्रका लिखित तथा प्रयोगात्मक परीक्षा सम्बन्धी सम्पूर्ण कार्य बन्द थियो ।

    सार्वजनिक जग्गा मिचेर ट्रायल सेन्टर बनाएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो ।

    विसं २०७८ फागुन २७ गते तनहुँमा कार्यालय स्थापना भएको थियो । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो ।

    कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्ता समेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।

    विसं २०७१ सालदेखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर सङ्कलन, रुटपरमिट, जाँचपास सम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ ।