बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८१, सोमबार

    पोखरा गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो ।

    लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए ।

    नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए । प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए ।

    घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो । प्रहरीले इन्र्भटर सप्लाई गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको थियो ।

    पसलका सञ्चालक सुजनले साथि पोखरा–१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासी आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए ।