डिएआईमा एमच्यामको मेम्बर लर्निङ सिरिज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डिएआईमा एमच्यामको मेम्बर लर्निङ सिरिज

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८१, आईतवार

    काठमाडौं ।अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य डिएआईमा मेम्बर लर्निङ सिरिज कार्यक्रम  गरेको छ । एमच्यामले आफ्ना सदस्य संस्थाहरूसँग गर्ने नियमित कार्यक्रम अन्तर्गत बिहीबार डिएआईमा १२ औं मेम्बर लर्निङ सिरिज कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा डिएआईकी नेपाल प्रतिनिधि निलु बस्न्यातले नेपालमा विपतका कारण ठूलो धनजनको क्षति भइरहेकाले रोकथाम र न्यनिकरणका लागि थप स्रोत र साधनको परिचालन गर्नुपर्नेमा जोड दिइन् । त्यसका लागि डिएआईले विपत् रोकथाम पूर्वतयारी, स्थानीयलाई तालिम, नीति निर्माण, जोखिम बीमा, जलवायु परिवर्तन सम्बन्धी सचेतना लगायतका कार्य गर्दै आएको उनले बताइन् ।

    कार्यक्रममा डा. गोपाल तिवारीले युएसएआईडीले नेपालमा सञ्चालन गर्दै आएको तयार नेपाल परियोजनामा निजी क्षेत्रको योगदानबारे चर्चा गरे ।  परियोजनाले उद्यमशीलताका लागि अवसर सिर्जना गरेको तिवारीले बताए । यस परियोजनामार्फत ३५  भन्दाबढी व्यवसाय विस्तार भइसकेको छ,  उनले भने । अहिले युएसएआईडीले उनीहरूलाई आवश्यक अन्य सहयोग समेत गरिरहेको छ ।

    हरित व्यवसायलाई प्रवर्द्धन गर्दै आएको परियोजनाले करिब ७ सय जनालाई व्यवसाय निरन्तरता व्यवस्थापन तालिम समेत दिएको तिवारीले बताए । विपत् व्यवस्थापन र न्युनीकरणको आवश्यकताबारे प्रस्तुतीकरण दिएका सुमन शाक्यले परियोजनापश्चात् स्थानीयमा विभिन्न परिवर्तन आएको बताए ।

    डिएआई सन् २०१६ देखि नेपालमा सञ्चालनमा रही विभिन्न परियाजनाहरू मार्फत दिगो विकासका लक्ष्यहरूमा टेवा पुर्याउदै आएको छ । संस्थाले नेपालसहित विभिन्न १ सय ५० भन्दाबढी मुलुकमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    युएसएआईडी संगको साझेदारी अन्तर्गतका तीन परियोजनाहरूले नेपालमा विपद व्यवस्थापन, खानेपानीको स्रोत व्यवस्थापन तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दाबढी व्यवसायिक संस्था आवद्ध छन् ।

    स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित संस्थाले नेपालका लागि वैदेशिक लगानी भित्राइ दुई देशबीचको व्यापारमा टेवा पुर्‍याउँदै आइरहेको छ ।

    कार्यक्रमको समापनमा बोल्दै एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले एमच्याम मेम्बर्स लर्निङ सिरिज र एक्पर्स्ट लर्निङ सिरिज अमेरिकाको काम गर्ने संस्कृतिलाई नेपालमा रूपान्तरण गर्ने उत्तम तरिका भएको बताए । उनले सदस्य तथा सरोकारवाला माझ गरिने यस्तो कार्यक्रम बढी अर्थपूर्ण र लाभमूलक हुने बताए । साथै व्यवसायिक एकीकरणलाई जोड दिन समेत यस्ता कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ थियो ।

    कार्यक्रममा एमच्याम नेपालका अमिर थापाले कार्यक्रममार्फत अमेरिकी लगानी, प्रविधि र प्रतिभाको रूपान्तरणमा एमच्याम नेपालको योगदानबारे बताए । कार्यक्रमले विश्वकै ठूलो अर्थतन्त्र अमेरिका र नेपालको उद्यमशील समुदायबीचको सहकार्यलाई प्रोत्साहन गरेको उनको भनाइ छ । थापाले नेपाल र अमेरिकाबीचको ७७ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउन यस कार्यक्रमले सहयोग पुर्‍याइरहेको बताए ।