बजारकै सिसि क्यामरा चल्दैनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    बजारकै सिसि क्यामरा चल्दैनन्

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सक्रियतामा जडान गरिएका सिसि क्यामरा नचल्ने अवस्थामा पुगेका छन् । इकाईले बजारका विभिन्न क्षेत्रमा जडान गरेका ३२ क्यामरा मध्ये ८ वटा मात्रै चालु अवस्थामा छ ।

    बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न उद्देश्यले जडान गरिएका क्यामरा नचल्ने अवस्थामा पुगेपछि मर्मत कार्य शुरु गरिएको इकाई सभापति राजकुमार श्रेष्ठ (राकु) ले बताउनुभयो । “२४ वटा सिसि क्यामराले काम गर्न छाडेको रहेछ, ती क्यामरा मर्मतको काम शुरु गरेका छौ,” श्रेष्ठले भन्नुभयो, “सबै क्यामरा चल्ने बनाउँछौ ।”

    इकाईले बिहीबार र शुक्रबार १६ वटा क्यामराको मर्मत गरिसकेको छ । शुक्रबार मात्रै व्यास नगरपालिका–२ स्थित गणेशमानचोक, ग्रिनसिटी टोलमा रहेका सिसि क्यामरा मर्मत गरिएको श्रेष्ठले जानकारी दिनुभयो । न्युरोड टोल र ग्रिनसिटी टोलमा पुरानो क्यामराले काम नगरेपछि तीन वटा नयाँ क्यामरा जडान गरिएको श्रेष्ठले जानकारी दिनुभयो । “धेरैजसो क्यामरा सामान्य मर्मत गरेपछि सञ्चालनमा आएको छ, मर्मत गर्दा पनि नचलेका क्यामरा परिवर्तन गरेर नयाँ राखेका छौ,” श्रेष्ठले भन्नुभयो ।

    इकाईको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यालय चोक, महर्षि चोक, भोर्लेटार चोक, व्यास–४ जलमन्दिर नजिक, सफासडक, ट्राफिकचोक, कालिका मार्ग, कारागार नजिक, मादी नदी र बुल्दी खोलाको पुल लगायतका स्थान सिसि क्यामरा जडान गरिएको छ ।

    सिसि टिभी जडानका लागि इकाईले करीब रु ६५ लाख लगानी गरेको बताएको छ । सिसि क्यामराको मर्मतका लागि इकाईले वार्षिक रु ३५ हजार रकम भुक्तानी गरिरहेको छ । “सिसि क्यामरामा खराबी आउन सक्ने भएकाले क्यामरा जडान गर्ने प्राविधिकलाई वार्षिक रुपमा भुक्तानी गर्दै आएका छौ,” श्रेष्ठले भन्नुभयो ।

    चाडपर्व नजिकिदै गरेको र यसबेला चोरी डकैतीका घटना हुन सक्ने भएकाले समयमै सिसि क्यामरा मर्मत गर्नुपर्ने व्यापारीको माग रहँदै आएको छ । “चाहिएको बेला काम नगर्दा व्यवसायीले इकाईमाथि नै प्रश्न उठाउन सक्छन्, त्यो जायज पनि हो,” उहाँले भन्नुभयो, “कहाँ कहाँको क्यामराले काम गरेको छैन, सबै पहिचान गरेर मर्मत सम्पन्न गर्छौ ।” सिसि टिभीको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा रहेको छ ।