तनहुँ । तनहुँका स्थानीय तहका प्रमुख सहितको गत जेठ २८ गते बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय ग¥यो । त्यतिबेला जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टिनमा भारत लगायतबाट आएर बसेका ६ सय ७८ नागरिक थिए ।
त्यसबेला जिल्लाबाट विभिन्न स्थानीय तहको क्वारेन्टिनमा रहेका ३ सय ५४ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । प्रदेशभरिको स्वाब पोखरामै परीक्षण हुने भएकाले पालो पाउनै मुस्किल थियो । स्वाबको रिपोर्ट आउनै १५–२० लाग्थ्यो । रिपोर्ट आउन ढिलाई भएपछि केही क्वारेन्टिनमा बसेकाहरु आन्दोलित समेत बने ।
स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता रहेको त्यो बेला राम्रो निर्णय भन्दै प्रशंसा भयो । पिसीआर मेशिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले बेहार्ने निर्णय भएको थियो । सोही बमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिका, भीमाद नगरपालिका र भानु नगरपालिकाले रु १२÷१२ लाख, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिकाका र घिरिङ गाउँपालिकाले रु ९÷९ लाख र देवघाट गाउँपालिकाले रु ५ लाख बजेट सहयोग गर्ने निर्णय भएको थियो ।
तर निर्णय भएको डेढ महिना कटिसक्दा पनि उक्त निर्णय कागजमै सीमित भएको छ । बैठकको समन्वय गर्नुभएकी म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पिसीआर मेशिन खरिदको सम्पूर्ण जिम्मेवारी शुक्लागण्डकी नगरपालिकालाई दिइएपनि मेशिन राख्नका लागि ठाउँ अभाव भएकाले ढिलाई भएको बताउनुभयो ।
“मेशिन किन्ने मात्रै भनेर भएन, उपकरण राख्ने ठाउँ नभएकाले पहिला ठाउँ तयार गरौ भन्ने सल्लाह भएको थियो,” रानाले भन्नुभयो, “सबै व्यवस्थापन मिलाउनुपर्ने भएकाले समय लाग्यो ।” अहिले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेकाले पिसीआर मेशिनको अब आवश्यकता पर्न सक्ने रानाले बताउनुभयो ।
तर शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ भने अब जिल्लाका लागि पिसीआर मेशिनको आवश्यकता नरहेको बताउनुहुन्छ । पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेकाले जिल्लामा मेशिन राख्न नपर्ने उहाँले बताउनुभयो । “त्यो बेला मेशिनको आवश्यकता भएकाले निर्णय त भयो, तर अब तत्कालका लागि मेशिन आवश्यक छैन,” गुरुङले भन्नुभयो, “अहिले त पोखराबाटै तत्कालै रिपोर्ट आइहाल्छ ।”
स्वाब सङ्कलन भएको १५–२० दिनमा पनि रिपोर्ट नआउँदा जिल्लामै मेशिन राखेर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहहरुले अग्रसरता लिएपनि अब उक्त निर्णयको आफूले औचित्य नदेखेको गुरुङ बताउनुहुन्छ ।
“अब बरु आइसोलेशन र क्वारेन्टिनको क्षमता वृद्धि गर्नेतर्फ सोच्नुपर्ने हुन्छ, विद्यालयमा क्वारेन्टिन नराख्ने निर्णय भएकाले सामुदायिक भवनहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो । चाडपर्व नजिकिदै आइरहेकाले विदेशबाट सर्वसाधारण फर्किने क्रम बढ्ने भएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको गुरुङले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार मङ्गलबारसम्म जिल्लाबाट पठाएका १८ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश परीक्षण प्रयोगशालामा मेशिन थप गरेकाले आजभोलि छिट्टै रिपोर्ट आउन थालेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । जिल्लामा १ सय ८३ जनालाई कोरोना सङ्क्रमण भएकामा १ सय ६४ जना निको भएका छन् । स्थानीय तहका क्वारेन्टिनमा अब ८७ जना छन् ।