सत्र किलोमा बस र माइक्रो ठोक्किदा चार जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्र किलोमा बस र माइक्रो ठोक्किदा चार जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०८१, शुक्रबार

    चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे माइक्रोबस र बस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् । 

    मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताए । त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ ।

    अन्दाजी ३२ वर्षका पुरुष र ३५ वर्षका अर्को पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नाम ठेगाना नखुलिसकेका यी तीनैजना माइक्रोबसका यात्रुहरू रहेको डीएसपी रिजालले जानकारी दिए । 

    माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइहरेको छ । बसका सहचालक काठमाडौं महानगरपालिका–३२ बस्ने ३० वर्षका भोजविक्रम शाह पनि सामान्य घाइते रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका घाइतेमध्ये दुईजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणका बारेमा अनुशन्धान भइरहेको प्रवक्ता डीएसपी रिजालले बताए । (इकान्तिपुरबाट)