आजदेखि २० दिन पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजदेखि २० दिन पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८१, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखि २० दिन दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

    निर्माणाधीन मुग्लिन पोखरा सडक अन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन आजदेखि २३ गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

    पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनः दोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताउनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।

    उनले भने, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

    मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्ड अन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

    पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ ।