ऑबुखैरेनी अस्पतालमा एक सय १७ जनालाई प्रसुती सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अस्पतालमा एक सय १७ जनालाई प्रसुती सेवा

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८१, सोमबार

    दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालले एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसुती सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसुती सेवा दिएको हो ।

    अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले अस्पतालले स्थानीय र आसपासका महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गरेको जानकारी दिए । उनका अनुसार अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छ भने ३२ हजार नौ पटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताए ।

    अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छ भने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको क्षेत्रीले बताए । त्यस्तै एक्सरे सेवा तीन हजार तीन सय ९१ जनालाई प्रदान गरिएको छ ।

    स्वास्थ्यचौकीको रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई विसं २०७९ मङ्सिर १ गते अस्पतालको रुपमा स्तरोन्नति गरिएको थियो । अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनस्र्थापना र उपचार सेवा सुरु गर्न लागेको छ ।

    त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत् थप सेवा, टेलिमेडिसिन तथा मोवाइल स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने योजना रहेको डा. क्षेत्रीले बताए । “स्वास्थ्यचौकीबाट अस्पताल भएको दुई वर्षको अवधिसम्म अस्पतालले विभिन्न सेवा विस्तार गरिसकेको र केही सेवा थप गर्ने लक्ष्यमा पुगिएको छ,” उनले भने ।

    गाउँपालिकाले विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी पन्ध्र शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    अस्पतालबाट चौबिसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

    गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भने, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छौ । इलाका वनको भवनलाई ल्याब बनाएका छौ । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौ ।”