युवा अभियान्ता गफ्फारद्वारा देउसीभैलो खेलेको रकमबाट विपन्न विद्यार्थीलाई स्वीटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा अभियान्ता गफ्फारद्वारा देउसीभैलो खेलेको रकमबाट विपन्न विद्यार्थीलाई स्वीटर

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८१, शुक्रबार

    दमौली । व्यास नगरपालिका–२ बागबजार निवासी युवा अभियान्ता सुदीप गफ्फारले तिहारमा देउसी खेलेर सङ्कलित रकमले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण सुरु गरेका छन् ।

    तिहारमा देउसीभैलो खेलेर सङ्कलित रकमबाट उनले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई स्वीटर र मोजा वितरण सुरु गरेका हुन् । दुई सय विद्यार्थीलाई स्वीटर र मोजा वितरण गर्ने उद्धेश्य अनुरुप शुक्रबार पहिलो चरणमा व्यास नगरपालिका–११ मूलपानीस्थित चण्डिका आधारभूत विद्यालयका २४ विद्यार्थीलाई सहयोग गरिएको छ ।

    विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले विद्यालयमा अध्ययनरत सम्पूर्ण २४ विद्यार्थीलाई स्वीटर र मोजा सहयोग गरिएको जानकारी दिए । उनका अनुसार व्यास नगरपालिकाभित्रका चार वटा विद्यालयमा दुई सय विद्यार्थीलाई सहयोग गरिनेछ ।

    गफ्फारले तिहारमा भैलो खेलेर रु ४० हजार सङ्कलन गरेका थिए । त्यसमा विदेशमा रहेका शुभेच्छुकहरुबाट पनि रकम प्राप्त हुने उनको भनाइ छ । उनले भने, “जाडोमा विद्यार्थी काम्दै विद्यालय आउन नपरोस् भनेर हामीले स्वीटर वितरण अभियान सुरु गरेका हौ ।”

    विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले विपन्न बालबालिकालाई स्वीटर प्राप्त भएपछि चिसो मौसममा उनीहरुलाई सहज हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर बस्नेतले सहयोगप्रति गफ्फारलाई आभार व्यक्त गरे ।