तनहुँ । गण्डकी प्रदेशकी सांसद आशा कोइरालाले चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाउने क्रम बढेकाले चितुवाको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद कोइरालाले दिनहुँ चितुवाको आक्रमण बढिरहेकाले चितुवा नियन्त्रणका लागि कस्तो नीति बनाउन सकिन्छ भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति घरको पिढीबाटै चितुवाले आक्रमण गर्दा डेढ वर्षीय नारायण रानाको मृत्यु भएको थियो । सांसद कोइरालाले भन्नुभयो, “चितुवा नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने कोही पनि सुरक्षित छैनन्, जङ्गलको बीचमा घरहरु छन्, यसको नियन्त्रणका लागि कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद कोइरालाले बाढी पहिरोले धेरै ठाउँमा जोखिम बढेको र खहरे खोला उर्लिदा ग्रामीण बस्ती बगाएकाले जनतालाई कसरी राहत दिने व्यवस्था गर्न सकिन्छ त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।