दमाैली, ३ असार । देवघाट गाउँपालिकाले खाना खाजामा रु १२ लाख भन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विविधि शीर्षकबाट खाना खाजामा रु १२ लाख ८० हजार खर्च गरेको हो ।
खर्चका परिमाण हेर्दा भौचर साथ बिल मात्र पेश भएकामा सो खर्च कुन कार्यक्रमसँग सम्बन्धित हो सोको प्रयोजन नखुलेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्तिमा नियन्त्रण गरी कार्यविधिबाट व्यवस्थित गरेरमात्र मितव्ययि तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
यस्तै गाउँपालिकाले अनुगमन तथा भ्रमणमा रु २५ लाख खर्च गरेको छ । उक्त वर्ष अुनगमन मूल्याङ्कन तथा भ्रमण खर्च शीर्षकमा रु २५ लाख खर्च लेखेको तर भ्रमणको उद्धेश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दूरीको विवरण, सवारी साधनको टिकट राखेको पाइएको छैन । जसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको मलेपले जनाएको छ ।