


दमौली, ३२ असार । तनहुँको व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने सडक कालोपत्र गरिएको छ । कच्ची रहेको यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य राखिएको छ ।
सम्पन्न गर्ने म्याद भन्दा एक वर्ष अगावै सडक कालोपत्रको काम सकिएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । सडक स्तरोन्नतिको ठेक्का एमएस गुल्मेश्वर पाण्डे एण्ड कम्पनीले पाएको थियो ।

कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । विसं २०८० जेठ ९ गते सम्झौता गरी काम सुरु गरिएको र म्याद सम्पन्न हुने मिति विसं २०८२ फागुन ९ गतेसम्म रहेको थियो । उक्त सडकको काम विसं २०८१ फागुन महिनामा सकिएको तिवारीले बताए । उनले भने, “सम्पन्न गर्ने म्याद अगावै सडक स्तरोन्नतिको सबै काम सकिएको छ ।”
रानीटारीदेखि घुम्तीसम्मको दूरी ९.२ किलोमिटर रहेको छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ ।