प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्ने

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८२, शुक्रबार

    काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (भदौ १४) बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । 

    प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्म गर्ने आफ्नो पाँचदिने चीन भ्रमणबारे शुक्रबार प्रतिनिधिसभा बैठकलाई जानकारी समेत गराएका थिए । 

    प्रधानमन्त्री ओलीका अनुसार, उनीसँगै चीन भ्रमण दलमा श्रीमती राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।

    प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शुक्रबार प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको टुंगो लागेको बताएका हुन् । 

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।