


दमाैली, १३ भदाै । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियान तनहुँले पृथ्वीराजमार्गका जेब्राक्रस तथा फुटपाथ अपाङ्गतामैत्री नभएकाले अपाङ्गतामैत्री बनाउन माग गरेको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै अभियानले शुक्रबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्तता सम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानहरुलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिए ।
ज्ञापनपत्रमा जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ ।
दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोलहरु राखिएकाले ह्विलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरु फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ ।
दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्ने गरी बिजुलीका पोलहरु राखिएकाले सेतोछडी प्रयोगकर्ताहरुको सहजताका लागि राखिएको टेक्टायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।
सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने ¥याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरुमा उक्लने ¥याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।
अपाङ्गता अधिकारकर्मी पौडेलले भने, “उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाब बीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरु दुर्घटना पर्ने अत्याधिक सम्भावना देखिएको छ ।”
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले ह्विलचियर प्रयोगकर्ता दृष्टिविहिन अपाङ्गतामैत्री सडक निर्माणका लागि सडक आयोजनासँग सहकार्य गरिएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सडक अपाङ्गतामैत्री हुनुपर्ने मान्यतामा संवेदनशील भइ सबै निकायसँग सहकार्य गरिने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ज्ञापनपत्रमा उल्लेख भएका सुधार गर्नुपर्ने पक्षका विषयमा आयोजनासँग समन्वय गर्ने बताए ।
तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहिन अपाङ्गता भएकाहरुलाई समस्या भएको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइल जस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्विलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्विलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गरे ।
जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चको रुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील रहेको छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत् अपाङ्गता भएका व्यक्तिहरुको हकति र अधिकारका निम्ति काम गर्दै आएको अभियानका उपसंयाेजक इश्वर बास्ताेलाले जानकारी दिए ।