


दमाैली, १४ भदाै । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सकारात्मक सोच र चिन्तनबाट मात्रै मुलुक समृद्ध हुने बताएका छन्। नेपाल जेसीजको आयोजना र जेसीआइ व्यास नगरको आतिथ्यतामा शनिबारदेखि दमौलीमा सुरु भएको नेपाल जेसीज क्षेत्र (ख) सम्मेलनको उद्घाटन गर्नुहुँदै नकारात्मक सोच त्यागेर सकारात्मक सोचको विकास गर्न आवश्यक रहेकामा जोड दिए ।
नेपालका युवाहरुमा नकारात्मकता हावी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले भने, “नकरात्मक सोचले मुलुक बन्दैन । नकारात्मक सोच त्यागेर सकारात्मक चिन्तन विकास गरेर मुलुक बनाउने महान् अभिभारामा सबै लाग्नुपर्छ ।” मुख्यमन्त्री पाण्डेले लामो सङ्घर्ष र बलिदानीबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको भन्दै योभन्दा राम्रो व्यवस्था नेपालमा आउन नसक्ने उल्लेख गरे ।
सङ्घीयता, गणतन्त्रका बारेमा प्रश्न उठेपनि सङ्घीयतालाई सुदृढ बनाएर जानुको विकल्प नभएको उनले बताए । उनले भने, “यो व्यवस्थामा सबैलाई अवसर छ । म विधिबाट चुनिएर मुख्यमन्त्री बनेको छु । जनताले पत्याएर मुख्यमन्त्री भएको छु । युवाहरुलाई आग्रह गर्छु, आउनुस् म भन्दा राम्रो काम गरेर मेरो ठाउँमा आएर काम गर्नुस् ।”

मुख्यमन्त्री पाण्डेले स्वदेश र विदेशमा बसेर नेपाल र नेपालीलाई गाली गरेर मात्रै मुलुक नबन्ने ठोकुवा गरे । जेसीजले युवाहरुमा सकारात्मक सोचको विकासका लागि आत्मविश्वास जगाएर नेपालमै केही गर्नुपर्छ भन्ने भावना विकास गराउन आग्रह गरे ।
मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाए । उनले नेपालमा धेरै परिवर्तन भएको बताउँदै २०५० सालभन्दा पछाडि जन्मिएका युवाहरुले परिवर्तन नदेखेको बताए ।
विदेश जाने दुई खालका युवा रहेको चर्चा गर्दै उनले एकथरी कामको खोजीमा र अर्काथरी नेपालको जीवनशैलीभन्दा विदेशको जीवनशैली खोज्दै विदेशिएको चर्चा गरे । कामको खोजीमा जाने युवाहरुलाई स्वदेशमै राख्न सक्नुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले भने, “युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने बनाउन आवश्यक छ ।”
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एलिना महर्जनकाे अध्यक्षतामा आयाेजित उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेकपा (एमाले) तनहुँका सचिव प्रदीपराज अधिकारी, नेपाली काङ्ग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले जेसीजले युवाको नेतृत्व विकासमा सकारात्मक सहयोग गर्दै आएको उल्लेख गरे ।
सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ । १५ वर्षको लामो अन्तराल पछि जेसीआई व्यासनगरले विगतको अनुभव र सिकाईलाई थप परिस्कृत र परिमार्जन गर्दै सन् २०२५ मा नेपाल जेसीजको एक उत्कृष्ट क्षेत्र ख सम्मेलन गर्ने अवसर प्राप्त गरेको सम्मेलनका निर्देशक सुरेश पुरीले जानकारी दिए ।
सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु हुने, तनहुँ जिल्लाको धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाहरुको परिचय तथा प्रवद्धन गर्ने गरी अधिकतम पर्यटकहरुलाई भित्राउने वातावरण तयार हुने, विभिन्न स्थानवाट भूगोल र समुदायका युवाहरुसंग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नेपाल जेसीज क्षेत्र ख अन्तर्गतका ४२ शाखाका प्रतिनिधिहरु, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा मनोनित पदाधिकारीहरु, नेपाल जेसीजका क्षेत्र क, ग र घ का शाखाहरुका पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, जुनियर जेसीज अन्तर्गत देशभरका शाखाका पदाधिकारीको सहभागिता रहेको छ ।
उक्त सम्मेलनमा विभिन्न शाखाका पदाधिकारी, सदस्यहरु, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षक, अतिथी गरी आठ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।