लमजुङ : ठूलो मात्रामा अवैध जङ्गली जडिबुटी सहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले वेशीशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धिमाया तामाङलाई जडिबुटी सहित पक्राउ गरेको हो ।
घरमा अवैध रूपमा जङ्गली जडिबुटी लुकाई छिपाई सङ्कलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की२४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा- ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ।
पक्राउ परेकी महिलालाई कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ ।